धर्म शास्त्र गफै हो । वा कुन चराको नाम हो धर्मशास्त्र । हामि मान्दैनौं वा जिवन उपयोगी छैनन् भनेर कुतर्क गर्ने हरुको कमि छैन । अझै भनौं केहि महिना वा दिन शास्त्रको लिपिलाई नियालेर अध्ययनै नगरी धर्म संकृतिको संविधान हाम्रा ग्रन्थ माथी कुतर्क गर्नु वा असंवैधानीक(अशास्त्रीय)तर्क गर्नु सामान्यनै भयो । यस्तै कुतर्कको जबाब दिदाँ हामि बालक देखिनु वा जिवन देखेका छौं ? भनेर तर्क आउनु सामान्य लाग्छ । तर यश विषयमा टिकाकार प्रा.डा. वेणीमाधव गुरु निर्णय सिन्धुमा विशेष कुरा उल्लेख गर्नु हुन्छ ।
धर्मशास्त्र भनेको गफ होइन
धर्मशास्त्र वा स्मृतिग्रन्थहरू भनेको गफ होइन । त्यसबेलाको संविधान हो। यो त्यस युगको कानुन हो । यो त्यसबेलाको राष्ट्र र समाजलाई सञ्चालन गर्ने सशक्त कानुन व्यवस्था हो । जसले राष्ट्रिय प्रजालाई नियमबद्ध रीतिले चलाएर आचार-विचार-धर्म-संस्कृतिको संरक्षण र संवर्धन गर्थे । त्यसभित्र मनु, भृगु, याज्ञवल्क्य, नारद आदि ६५ स्मृतिमध्ये ४० स्मृति प्रकाशित छन् र प्रचलित पनि छन् ।
आवश्यक बुझ्नुपर्ने कुरा के हो भने कुनै पनि नयाँ कानुन संविधान बनाउँदा पुरानै आधारशिला हुन्छ । यहाँ वर्तमान युगका नेपाल, भारतमात्र होइन अपितु विश्वभरिका कानुन-नियम विधानहरू स्मृति, धर्मशास्त्रका वाक्यहरूबाट अलग छैनन् । भलै भाषा, शैली, भङ्गी आदि अलग हुनसक्छन् । तर पूर्वाधारहरूलाई छोडेर निराधार कानुन नियम संविधान बन्न सक्दैन, बनेको पनि छैन। यस बारेमा पाश्चात्य संस्कृतज्ञहरूले गरेका अध्ययन अनुसन्धेय र अनुकरणीय हुनसक्छन् । यस कुरालाई सर्वथा असत्य मान्न सकिँदैन ।
ग्रन्थ आफैमा सम्विधान हो ।
सर्वतन्त्र स्वतन्त्र कमलाकरभट्ट-पारिकर्मिक निर्णयसिन्धु केवल ‘धर्म’को होइन अपितु समस्त राष्ट्रका सामाजिक, धार्मिक, सांस्कृतिक, संवैधानिकपक्षको नियम थियो । जसका आधारमा राष्ट्र चल्थ्यो । यसमा के प्रमाण छ त ? प्रश्न हुनसक्छ । त्यसको सहज उत्तर यही हो कि त्यसबेला स्मृति धर्मशास्त्रबाहेक राष्ट्र सञ्चालन गर्ने अर्को कुनै कानुन-विधान देखापरेको छैन । यसैको यही अर्थ हो कि तात्कालिक राष्ट्रसञ्चालनका कानुन यिनै स्मृति र धर्मशास्त्र थिए । अत एव यिनको विकल्पमा अर्को कानुन देखिएन । त्यसैले निर्णयसिन्धु त्यसबेलाको कानुन संविधान हो भन्दा आश्चर्य मान्नुपर्दैन, शुक्रनीति, विदुरनीति आदि समस्त नीतिहरू स्मृतिधर्मशास्त्रअन्तर्गत अन्तर्भूत छन् ।
ग्रन्थको मङ्गलाचरणमा नै वेदार्थधर्मरक्षायै भनी प्रयोग गरिएको शब्दराशिले बुझिन्छ कि वैदिक सनातन धर्मरक्षाका लागि निर्णयसिन्धुनामक धर्मशास्त्रग्रन्थको रचना गरिएको रहेछ । मीमांसातर्कसाम्राज्यधुरन्धर कुमारिल भट्टपाद मीमांसाको प्रयोजन बताउँदै भन्दछन्- ‘धर्माख्यं विषयं वक्तुं मीमांसायाः प्रयोजनम्’ अर्थात् धर्म र धर्मशास्त्रको विषयमा व्याख्या गर्नु नै मीमांसाशास्त्रको प्रमुख प्रयोजन हो भन्नु हुन्छ । शास्त्र के वस्तु हो ? कुन चरोको नाम हो ? भनेर कुतर्क गर्नेहरूलाई श्लोकवार्तिक ग्रन्थमा स्पष्ट भन्दछन् –
प्रवृत्तिर्वा निवृत्तिर्वा नित्येन कृतकेन वा । पुंसां येनोपदिश्येत तच्छास्त्रं परिकीर्तितम् ।। – श्लोकवार्तिक ।
इष्टवस्तुमा प्रवृत्ति र अनिष्टबाट निवृत्ति हुनु स्वभावसिद्ध कुरा हो । त्यसैलाई अर्को शब्दाबलीमा ‘इष्टस्य प्राप्तिः’ अर्थात् इष्टवस्तुलाई प्राप्त गर्ने सबैको इच्छा हुन्छ भने ‘अनिष्टस्य निवृत्तिः‘ अनिष्टवस्तुबाट निवृत्त हुनु स्वभावसिद्ध कुरा हो । नित्य वेदराशिले बताएको कृतक अर्थात् कार्यरूप यी सबै जीवनसम्बन्धित क्रियाकलापलाई जुन पुरुषको लागि बताएको हुन्छ त्यही शास्त्र हो । त्यसैले ‘हितशासनाच्छास्त्रम्’ भनेको हो, जसले हित गर्छ त्यसैको नाम शास्त्र हो । गीतामा पनि भनिएको छ- तस्माच्छास्त्रं प्रमाणन्ते कार्याकार्यव्यवस्थितौ हे अर्जुन। सुन, यो गर्ने र यो न गर्ने आदि व्यवस्थाहरूमा शास्त्र नै प्रमाण हुन्छ । यसका लागि देश, काल, पात्र, परिस्थिति यी चारवटालाई ध्यानमा राख्नु पर्ने हुन्छ। यस विषयमा कमलाकरभट्ट प्रसुप्त छैनन् अपितु सजग जागरित अवस्थाका देखिन्छन् ।